काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्तले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको अपेक्षा अनुरूप नतिजा देखिन नसकेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा धारणा राख्दै सांसद पन्तले जनआन्दोलनको भावना र परिवर्तनको एजेन्डालाई आधार बनाएर बनेको सरकारले नागरिकले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको टिप्पणी गरे। सरकारमै सहभागी दलको सांसद हुँदाहुँदै पनि आफूले परिवर्तनको ठोस अनुभूति गर्न नसकेको उनको भनाइ थियो।
सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले आफूले नै परिवर्तन महसुस गर्न नसकेको अवस्थामा सर्वसाधारणले त्यसको अनुभूति कसरी गर्ने भन्ने प्रश्न उठाए। सरकारको कार्यशैली जनअपेक्षाअनुसार सुधार हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
सांसद पन्तले पछिल्लो समय स्वास्थ्य क्षेत्रको अवस्थाप्रति पनि संसद्को ध्यानाकर्षण गराए। नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाक्रममा चिकित्सकमाथि हातपात भएको र त्यसपछि देशभर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा सर्वसाधारण उपचार सेवाबाट प्रभावित भएको उनले उल्लेख गरे।
उक्त घटनाको निष्पक्ष र विस्तृत छानबिन गर्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा घटनामा संलग्न नभएका व्यक्तिहरू पक्राउ परेका भए उनीहरूलाई तत्काल रिहा गर्न सांसद पन्तले सरकारसँग माग गरे।
उनले जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति दिलाउने गरी सरकारले आफ्नो कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन्।






