काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।
सुनसरीबाट सुरु भएको तनावपूर्ण अवस्थाको प्रभाव मधेश क्षेत्रमा समेत देखिन थालेपछि त्यसबारे जानकारी लिन र आवश्यक समन्वयका लागि सभापति लामिछानेले सांसदहरूसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।
छलफलमा तराई-मधेश क्षेत्रमा सामाजिक सद्भाव कायम राख्ने उपाय, पछिल्लो सुरक्षा अवस्था तथा राज्य संयन्त्रको भूमिकाबारे विचार विमर्श भएको बताइएको छ।
मधेश प्रदेशका करिब २० जना सांसद सहभागी छलफलमा सहभागीहरूले पछिल्लो परिस्थितिमा राज्यको सक्रियता र तत्काल पहल अपेक्षाअनुसार प्रभावकारी नभएको अनुभूति भएको धारणा राखेको सचिवालयले जनाएको छ।






