काठमाडौँ । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनामा सरकारले संयमता गुमाएको तथा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप लगाएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारले मधेशमा भएको घटनाको समाधान खोज्न राज्य संयन्त्र परिचालन गर्नुको सट्टा आफ्ना स्वकीय सचिव र निजी सहयोगीलाई वार्ताका लागि पठाएको भन्दै त्यसलाई ‘उदेकलाग्दो परिस्थिति’को संज्ञा दिए । उनले सुनसरी सिरहामा भएको धार्मिक तनावका सन्दर्भमा सरकारका व्यक्तिहरू फेसबुकमा सीमित भएको तथा सरकारको उपस्थिति गोली, लाठी र दमनमा मात्र भेटिएको आरोप पनि लगाए । देशका विभिन्न स्थानमा देखिएको सुरक्षा प्रणालीको कमजोरी, सुरक्षा तथा नीतिगत तयारीको अभावले नागरिकको सुरक्षा झनै जोखिममा परेको उनको भनाइ छ ।
उनले नेपाली काँग्रेस सरकार तथा कुनै पनि पार्टीको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहने भए पनि लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदा प्रतिपक्षका रूपमा मौन बस्न नसकिने बताए।
उनले भने, ‘अहिले हामी सरकारको अस्थिरता चाहँदैनौँ । सरकार सुशासन पारदर्शिता र उत्तरदायित्वको आधारमा बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी भने होइन । हामी कुनै पनि दलको वा सरकारको आन्तरिक मामलामा टिप्पणी पनि गर्न चाहँदैनौँ । तर सरकारका गतिविधिले समग्र लोकतान्त्रिक प्रणाली संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको बेलामा हामी मौन रहन पनि सक्दैनौँ । यही उत्तरदायित्व, जिम्मेवारी बोधलाई जिम्मेवारीलाई बोध गर्दै नेपाली काँग्रेसले सरकारको कार्यशैली निर्णय प्रक्रिया र सुशासन प्रति सरकारका कमजोरी सच्याउन हामीले आवश्यक ठानेका छौँ । प्रतिनिधि सभाले हालै पारित गरेको नियमावलीदेखि लिएर जेनजी आन्दोलन पछिका घटनाक्रमदेखि लिएर सुनसरीको घटनासम्म राजनीतिक प्रकृतिका घटना र त्यसका अतिरिक्त जति पनि सरकारसँग सम्बद्ध विषयहरू छन् यी विषयहरूमा हामीले सरकारको जबाफदेहिताको माग गरिरहेका छौँ । सुनसरीको देवानगन्ज कप्तानगन्ज घटनामा सरकारले संयमता पनि गुमायो र सरकारको जबाफदेहिता पनि देखिएन । के यस्तै हुन्छ सरकार ? जन नागरिकको प्रश्न हो । सुनसरीको देवानगन्ज कप्तानगन्जमा भएको दु:खद् घटना र त्यसपछिको तनावपूर्ण परिस्थिति सबैको लागि गम्भीर चिन्ताको विषय हो । देशको विभिन्न स्थानमा देखिएको सरकारी सुरक्षा प्रणालीको कमजोरी र सुरक्षा अनभिज्ञता तथा नीतिगत अनभिज्ञताले नागरिक सुरक्षालाई झन् असुरक्षित बनाएको छ । सुनसरीको लाहाने घटनामा राज्य संयमित र जिम्मेवार भएर प्रस्तुत हुन सकेन । सरकारका व्यक्तिहरू फेसबुकमा सीमित देखिए । सरकारको उपस्थिति गोली, लाठी र दमनमा मात्र सरकार भेटिन थाल्यो । र समाधानको सन्दर्भमा सरकारको तर्फबाट हैन कि आफ्ना निजी स्वकीयहरूलाई पीएहरुलाई घटनास्थलमा पठाउने वार्ता पठाउने किसिमको एउटा उदेकलाग्दो परिस्थिति आएको छ ।’
उनले मुलुकमा मुलुकमा भ्रष्टाचार गर्न भनी आएको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप पनि लगाए ।






