काठमाडौँ । ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिंग गाउँपालिका–४ ठेगाना भएका अम्मर सिं नेपाली बुधबार राति पक्राउ परेका छन् । साउदी अरबबाट नेपाल आगमन हुने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
अम्मरसमेत भएको ज्यान सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ २४ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।






