काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले देशको वर्तमान परिस्थिति र नयाँ पुस्तालाई दिइने शिक्षाका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक’ उपर भएको सैद्धान्तिक छलफलमा बोल्दै उनले चिन्ता व्यक्त गरेका हुन् । छलफलका क्रममा मुख्य सचेतक दुलालले संसदीय समिति र संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई प्रमुखताका साथ उठाए।
उनले प्रधानमन्त्रीले संसद र समितिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। दुलालले देशको विद्यमान शैक्षिक पाठ्यक्रम र राजनीतिक भाष्यका बारेमा टिप्पणी गर्दै नयाँ पुस्तालाई बुझाउने शैलीमा परिवर्तन आवश्यक रहेको बताए।
उनले भने, ‘हामीले पटकपटक प्रधानमन्त्रीज्यूलाई संसद र समितिमा खोज्छौँ । समिति र संसदभन्दा आफू माथि रहेको मानसिकता कतै न कतै देखिन्छ, जुन उचित होइन । हाम्रो पाठ्यक्रममा नैतिक शिक्षाको अभाव छ । हामीले नयाँ पुस्तालाई देश कसरी राजनीतिक परिवर्तन, गरिबी र विभेदको अन्धकारबाट आजको अवस्थासम्म आइपुग्यो भन्ने कुरा सिकाउन सकेका छैनौँ । हामीले केवल राजनीति खराब हो, नेताहरू भ्रष्ट हुन् भन्ने नकारात्मक कुरा मात्र सिकाएका छौँ । तर यही राजनीतिले देशलाई अधिकारसम्पन्न र स्वतन्त्र बनाएको यथार्थ बुझाउन चुकेका छौँ ।’
राष्ट्रिय सेवा दलमार्फत किशोर–किशोरीहरूलाई दिइने तालिमको सन्दर्भमा बोल्दै उनले यसको वैज्ञानिकता र सान्दर्भिकतामाथि प्रश्न उठाए । वर्तमान समय र देशको अवस्थालाई मध्यनजर गर्दै यस्तो तालिम कत्तिको जायज र उद्देश्यमूलक हुन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।






