काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले तत्कालै सरकारलाई यस्तो निर्देशन दिएका हुन् ।
सांसद यादवले पूर्वतयारी, अध्ययन तथा मन्त्रिपरिषद्को निर्णय भइसकेको आयोजना लामो समयदेखि अघि नबढेको तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अन्यत्र सार्न लागेको अभिव्यक्ति दिएको भनी आपत्ति जनाएका थिए ।
सभामुख अर्यालले भने, ‘आजै माननीय चन्द्रमोहन यादवले राख्नुभएको विषयमा वास्तविकता के हो ? यो विषयमा सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु ।’
सांसद यादवले ढल्केवर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले दैनिक सवारीसाधनको अत्यधिक चाप रहने भएको बताए ।
यही कारण सडक दुर्घटनाको जोखिम पनि उच्च रहेकाले ट्रमा सेन्टर निर्माण गर्नुपर्ने बताए । उनले तत्कालीन सरकारले मन्त्रिवपरिषदबाट गरेका निर्णय उल्ट्याउँदै विकास निर्माण अलपत्र नपार्न सरकारलाई चेतावनी समेत दिएका थिए ।






