काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच पार्टी एकताका लागि ‘तेस्रो धार’का रूपमा सक्रिय नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
नैनसिंह महर, रञ्जित कर्ण र राजेन्द्र तिवारीलगायत नेताहरूले शुक्रबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। नेता महरका अनुसार भेटमा मुलुकको वर्तमान समसामयिक अवस्थाका विषयमा राष्ट्रपतिसँग छलफल भएको छ।
काँग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन दबाब दिने उद्देश्यले यी नेताहरूले छुट्टै अभियान अघि बढाएका छन्।
पार्टीभित्रको विवाद विभाजनसम्म पुग्न नदिन भन्दै उनीहरूले साउन २० गते काठमाडौँमा भेला आयोजना गरेका थिए। उक्त भेलाबाट पार्टी एकताका लागि चार बुँदे मध्यमार्गी प्रस्तावसमेत अघि सारिएको थियो।
दुवै पक्षलाई संवाद र सहमतितर्फ ल्याउने उद्देश्यसहित सक्रिय नेताहरूले आन्तरिक मतभेद समाधान गरी काँग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै आएका छन्।






