काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व र राज्यका स्रोत-साधनमा समान पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले समावेशिता नारामा मात्र सीमित नराखी राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजाति लगायत उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्व अझ सुदृढ गर्नुपर्ने बताए ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात गरेको उनको भनाई छ । उनले विविधताबीचको एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । नेपालका परिवर्तनकारी आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको उल्लेख गर्दै उनले समावेशी लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापनासमेत आदिवासी जनजातिको अधिकार प्राप्तिको संघर्षसँग जोडिएको बताए । संविधानले आदिवासी जनजाति लगायत उपेक्षित, उत्पीडित र सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गरेकाले त्यसको व्यवहारिक कार्यान्वयन अहिलेको आवश्यकता भएको उनको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै अघि बढ्न सकेमा मुलुकले विभिन्न क्षेत्रमा सकारात्मक प्रगति गर्न सक्ने उनले बताए।
आदिवासी जनजातिसँग प्रकृतिसँग मिलेर बाँच्ने परम्परागत ज्ञान, सीप र संस्कृति रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तन र वातावरणीय सन्तुलनका लागि यस्तो ज्ञान विश्वकै लागि अनुकरणीय रहेको बताए । उनले नयाँ पुस्तालाई आफ्नै भाषा, संस्कृति र मौलिकताको संरक्षणप्रति जिम्मेवार बनाउन अग्रसरता लिनुपर्नेमा पनि जोड दिए । शिक्षा, विज्ञान र प्रविधिको प्रयोगमार्फत नयाँ पुस्ताले मौलिकता संरक्षण गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।






