काठमाडौँ । सरकारले नेपालमा उत्पादन वा विदेशबाट आयात भई विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युतीय सवारीसाधनमार्फत सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई उक्त दुवै शीर्षकमा कर तथा शुल्क छुट प्रदान गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयअनुसार नेपालभित्र उत्पादन हुने वा विदेशबाट पैठारी गरिने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर तिर्नुपर्ने छैन।
स्वास्थ्य तथा आकस्मिक सेवा प्रयोजनमा प्रयोग हुने विद्युतीय एम्बुलेन्स र शव वाहनको सञ्चालन तथा आयातलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो कर तथा शुल्क छुटको व्यवस्था गरिएको हो।






