इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक टापु नजिकै बुधबार बिहान एउटा यात्रुवाहक फेरीमा आगलागी भएको छ । पुत्री यास्मिन नामक उक्त फेरीमा आगलागी भएपछि हालसम्म ११२ जनाको सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
पश्चिमी नुसा टेङ्गारा प्रान्तको समुन्द्री क्षेत्रमा भएको उक्त दुर्घटना लगत्तै विभिन्न माध्यमबाट उद्धार कार्य अगाडि बढाइएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार नजिकै रहेको अर्को फेरीले ३६ जनालाई उद्धार गरी बालीतर्फ फर्काएको छ भने खोज तथा उद्धार निकायको जहाजले ५९ जनालाई सुरक्षित स्थानमा पुर्याएको छ । त्यसैगरी, इन्डोनेसियाली नौसेनाको जहाजले थप १७ जनाको उद्धार गरेको छ । पाडाङबाईका एक अधिकारीले उपलब्ध गराएको म्यानिफेस्ट विवरण अनुसार उक्त फेरीमा ११४ यात्रु र १७ जना चालक दलका सदस्य सवार थिए । हालसम्मको प्राप्त रिपोर्टअनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
बालीबाट लोम्बोक टापुका लागि प्रस्थान गरेको उक्त फेरीमा यात्राकै क्रममा अचानक आगलागी शुरु भएको थियो । आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन र यसबारे आधिकारिक अनुसन्धान जारी रहेको बताइएको छ ।






