काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि तथा खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चौधरीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद चौधरीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक प्रस्तुत गर्दै नेपालका करिव २४.९ प्रतिशत नागरिकले उपचारका लागि आफ्नै खल्तीबाट खर्च गर्नुपर्दा आर्थिक कठिनाइ भोग्नुपरेको बताइन्।
सरकारी स्वास्थ्य संस्थामा खरिद प्रक्रिया समयमै अघि नबढ्दा गर्भवती, सुत्केरी र किशोरीहरूका लागि आवश्यक आइरन चक्की तथा रेबिजविरुद्धको खोपको अभाव भएको उनले उल्लेख गरिन् ।
मधेस प्रदेशमा गर्मी र वर्षायामको सुरुवातसँगै सर्प दंशको जोखिम बढेको प्रति चिन्ता व्यक्त गरिन्। उनले मधेश प्रदेशका कुन अस्पताल र उपचार केन्द्रमा कति ‘भाइल’ एन्टि स्नेक भेनम मौज्दात छ, सोको विवरण उपलब्ध गराउन सरकारसँग माग गरिन्। साथै, सर्पदंशका गम्भीर बिरामीका लागि भेन्टिलेटर, क्रिटिकल केयर र दक्ष जनशक्तिको सुनिश्चितता गर्न समेत उनले आग्रह गरिन् ।
उनले भनिन्, ‘सरकारी स्वास्थ्य केन्द्रहरूमा एन्टि स्नेक भेनमको उपलब्धता अत्यन्त न्यून छ । एउटा केन्द्रमा औषधि सकिँदा अर्को केन्द्रबाट ल्याउनुपर्ने अवस्थाले बिरामीको ज्यान जोखिममा परेको छ ।’
सांसद चौधरीले नेपालको समृद्ध विविधता, संस्कृति र परम्परालाई अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन सरकार र सम्बन्धित निकायलाई सचेत गराइन् ।






