लहान । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।
उनले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी छिन् ।
पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै मेहताले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताएकी छिन् ।
यसै क्रममा उनले सगरमाथा चौधरी आँखा अस्पताल र महेन्द्र ज्ञानी प्रसूति गृहको समेत निरीक्षण गरेकी छिन् । उनले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक सुधार तथा व्यवस्थापनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।






