काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले परिवर्तनको खोजीमा हिँडेको जनअभिमत कम्युनिष्ट दलहरूभन्दा धेरै पर पुग्ने स्थिति निर्माण हुनुको कारण नखोजीकन मुलुकको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताए । बस्नेतले जनताको असन्तुष्टि र आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीबारेको बहस कमजोर हुँदै जाँदा समस्या समाधानको जिम्मेवारी व्यक्ति केन्द्रित तर्क गरे। उनले नवउदारवादको बढ्दो प्रभावले सामाजिक तथा आर्थिक असमानता र विभेद घटाउन नसकेको दाबी पनि गरे ।
उनले विश्वको वर्तमान परिस्थितिले मुलुकलाई वामपन्थी वा दक्षिणपन्थी बाटोमध्ये कुनै एकतर्फ जाने अवस्था सिर्जना गरिरहेको समेत जिकिर गरे । उनले वामपन्थी आन्दोलनले जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिन विचार, राजनीति र प्रणालीमाथि गम्भीर बहस गर्न आवश्यक रहेको पनि बताए । उनले कम्युनिष्ट पार्टीको सफलता र असफलताको श्रेय तथा जिम्मेवारी कुनै एक व्यक्तिलाई दिने वा एक व्यक्तिले लिने प्रवृत्तिले समेत आन्दोलन कमजोर बन्न पुगेको उनको बुझाई छ ।
उनले भने, ‘अहिले हामीले खोजी गर्नुपर्ने विषय, परिवर्तनको खोजीमा हिँडेको जनअभिमत हामीबाट धेरै पर पुग्ने स्थिति किन निर्माण भयो ? कसरी निर्माण भयो ? र त्यसलाई सही दिशामा कसरी फेरी फर्काउन सकिन्छ ? आजको हाम्रो बहसको सार यहीँनेर आउनुपर्दछ भन्ने मलाई लाग्छ । पछिल्लो समयमा विभिन्न विद्धान तथा वैज्ञानिकहरूले पनि विभिन्न अनुसन्धान गरिराखेका छन् । जसरी पछिल्लो समय विश्वभर नवउदारवादको प्रभुत्व बढ्दै गयो त्यसले समाजका असमानताहरूलाई न्यूनीकरण गर्न सकेन, सामाजिक विभेदलाई न्यूनीकरण गर्न सकेन । पछिल्ला सामाजिक तथा प्राकृतिक घटनाक्रमहरू समेत त्यसले समाधान गर्न सकेन । जसको कारणले अब मुलुक कि त वामपन्थी आन्दोलनको बाटोमा हिँड्ने परिस्थिति निर्माण हुँदै छ, या त दक्षिणपन्थी बाटोमा निर्माण हुँदै छ भनेर कुरा उठिरहेका छन् । जब म जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिने ढंगले जब विचार, राजनीति, संस्कृति, त्यसको प्रणालीमा छलफल कम हुँदै जान्छ । अनि उक्त समस्याको जिम्मेवारी एउटा व्यक्तिले लिने र कुनै एक व्यक्तिलाई दिने संस्कृतिको विकास हुँदै जान्छ त्यसले समाजलाई सही बाटोमा डोहोर्याउँदैन । सफलता र असफलताको श्रेय एउटा व्यक्तिलाई दिने र एउटा व्यक्तिले लिने प्रवृत्तिले विचारको औचित्यलाई कमजोर बनाउँदै लैजान्छ ।’
उनले कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउन दलहरूले विगतमा गरेका राजनीतिक अभ्यासहरूको मूल्यांकन गर्न जरुरी रहेको बताए । उनले २०६३ देखि २०८२ सालसम्म कम्युनिष्ट दलहरूले मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त गरेको भए पनि आम नागरिकलाई विश्वस्थ बनाउन नसकेको टिप्पणी समेत गरे ।






