काठमाडौँ । फिलिपिन्स सरकारले राजधानी मनिलासहित १२ वटा प्रान्तमा भौतिक उपस्थितिमा सञ्चालन हुने विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । उष्णकटिबन्धीय चक्रवात र मनसुनी वायुका कारण जारी भीषण वर्षाले जनजीवन प्रभावित पारेपछि सोमवार यस्तो निर्णय लिइएको हो ।
राष्ट्रपतिको कार्यालयद्वारा सोमवार जारी गरिएको ‘मेमोरेन्डम सर्कुलर नम्बर १२७’ अनुसार प्रभावित क्षेत्रका शिक्षण संस्था र सरकारी निकायहरूलाई वैकल्पिक कार्य व्यवस्था (अनलाइन वा भर्चुअल माध्यम) अपनाउन निर्देशन दिइएको छ ।
यद्यपि, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवामा संलग्न फ्रन्टलाइन निकायहरूलाई भने यो आदेश लागू हुनेछैन । विपद् व्यवस्थापनका अधिकारीहरूका अनुसार हालसम्म देशका कम्तीमा ५० वटा सहर र नगरपालिकाहरूमा संकटकाल घोषणा गरिएको छ । पाम्पांगा र काभाइट प्रान्तले आफ्ना सबै स्थानीय तहहरूमा संकटकाल लागू गरेका छन् ।
अत्यधिक वर्षाका कारण फिलिपिन्सका विभिन्न भू–भागमा भीषण बाढी र पहिरो गएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बाढी नियन्त्रण पूर्वाधार निर्माणमा भएको भ्रष्टाचार र ढिलासुस्तीका कारण कतिपय महत्त्वपूर्ण संरचनाहरू अधुरो रहेको वा उचित मर्मत सम्भारको अभावमा रहेकाले विपद् व्यवस्थापनमा थप चुनौती उत्पन्न भएको छ ।






