काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी समिति अध्यक्ष डा. आनन्द सिंह भाटले काठमाडौँ उपत्यकाका स्थानीय तह तथा उद्योगबाट निस्कने रासायनिक पदार्थसहितको फोहोर बागमती नदीमा मिसिँदा नदीको पानी प्रदूषण भइरहेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बागमती ब्युटिफिकेशन आयोजनासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अबको एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बग्ने गरी ढल व्यवस्थापनको कार्य भइरहेको समेत जानकारी दिए । उनले यसका लागि खानेपानी मन्त्रालयको समन्वयमा बागमती सभ्यताको नेतृत्वमा ढल व्यवस्थापनसँग सम्बन्धित निकायलाई समेटेर समन्वय समिति गठन गर्ने तयारी भइरहेको समेत बताए ।
स्थानीय सरकार र संघीय सरकारबीच समन्वयको अभाव, बागमती सभ्यता समितिको स्पष्ट क्षेत्राधिकार नहुँदा पनि बागमती नदीलाई स्वच्छ बनाउने कुरामा चुनौती देखिएको उनको भनाइ छ । उनले ढलमा निर्माण सामग्री, मासु काटेर निस्कने फोहोर तथा सिल्टसमेत मिसिँदा ढल अवरुद्ध हुने समस्या रहेको बताए । उनले ढल सफाइका क्रममा केही दिनअघि गरिएको परीक्षणमा ग्रिड च्याम्बरमा छोटो समयमै दुई–तीन ट्रकसम्म सिल्ट जम्मा भएको भेटिएको समेत बताए ।
उनले भने, ‘एक वर्षभित्रमा बागमती नदिमा स्वच्छ पानी बग्ने तथा व्यवस्थापनको लागि काम गरिरहेका छौँ । यसका लागि हामीले बागमती सभ्यताको लिडरशिपमा एउटा कोअर्डिनेसन कमिटी बनाउनको लागि सोमवार बैठक राखेका छौँ । यस क्षेत्रमा काम गर्ने सबै निकायको प्रतिनिधित्व हुने गरी नदिनमा के के समस्या छन् ? यसको हल कसरी निस्कन सक्छ ? कुन निकायको भूमिका के हुनसक्छ लगायतका विषयमा पहिचान गरेर तद्तद्अनुसार काम गर्ने योजना छ ।
अर्को, काठमाडौँ उपत्यकाका स्थानीय निकायले पनि यसमा जिम्मेवार भूमिका खेल्नुपर्छ । कार्पेट डाइङ इन्डस्ट्रीले अथवा धोएको केमिकल्स नदिनमा आउन दिनुभएन । बायोलोजिकल रूपमा पनि यसले समस्या निम्त्याइरहेको छ । अर्को, सिल्टेसनका कुरामा काठमाडौँ भ्यालीबाट कन्स्ट्रक्सन मेटेरियल्स ल्याउने, मासुको फोहोर कल्भर्ट, ढलहरूमा च्याम्वरहरूमा लगेर हालिदिने गरेको छ । यसले कसरी समाधान हुनसक्छ त ?’
उनले बागमतीको सरसफाईमा समितिले गर्ने गतिविधिमाथि स्थानीय सरकारले हस्तक्षेप गर्ने गरेको गुनासो पनि गरे ।






