काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा कुश्मा थारू मन्त्री नियुक्त भएका हुन्।
नियुक्त मन्त्रीमध्ये पुनले स्वास्थ्य मन्त्रालय, थारूले आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने तय भएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै यसअघि स्वास्थ्य मन्त्रालय सम्हालिरहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।
रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
सहमतिअनुसार पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जनता समाजवादी पार्टी नेपालबाट दुई जना मन्त्री रहनेछन्।






