काठमाडौँ । बाढीबाट प्रभावित पशुचौपायाको स्वास्थ्य अवस्था बुझ्न तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली प्रभावित क्षेत्रमा पुगेको छ।
बाढीका कारण पशुचौपायामा विभिन्न रोगको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको हो। टोलीले स्थानीय प्रशासन तथा पशु स्वास्थ्यसम्बन्धी निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रको अवस्था र तत्काल आवश्यक सहयोगबारे जानकारी लिएको छ।
यसक्रममा टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढीपछिको अवस्था तथा सञ्चालन भइरहेका उद्धार र राहतसम्बन्धी गतिविधिबारे जानकारी लिएको जनाएको छ।
टोलीले नुवाकोटस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग पनि समन्वय गरेको छ। प्रभावित पशुचौपायाको स्वास्थ्य व्यवस्थापनका लागि आवश्यक औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री टोलीले सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ।
बाढीपछि पशुचौपायामा हुन सक्ने रोग तथा संक्रमणको जोखिम न्यूनीकरण गर्न औषधि र खोपसहितका सामग्री तत्काल उपलब्ध गराइएको प्राविधिक टोलीले जनाएको छ। प्रभावित क्षेत्रमा पशु स्वास्थ्य सेवाको आवश्यकता पहिचान गरी थप सहयोगका लागि समेत समन्वय भइरहेको जनाइएको छ।






