काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी-केरुङ नाका र त्रिशूली करिडोरमा चार सयभन्दा बढी मालवाहक कन्टेनर ट्रक प्रभावित भएको यातायात व्यवसायीहरूले बताएका छन्।
बाढीमा परेका कन्टेनरमा कार्यरत चालक, सहचालक र मजदुर तथा त्यस क्षेत्रमा रहेका व्यापारी र भन्सार एजेन्टसमेत गरी एक हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन वा फसेको उनीहरूको दाबी छ। ती कन्टेनर तिज, दसैँ र तिहारका लागि सामान लिन रसुवा नाका पुगेका थिए।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बाढीमा परेका कन्टेनर र तिनमा कार्यरत व्यक्तिको अवस्था खुल्न नसकेको बताएका छन्।
उनका अनुसार संस्थामा दर्ता भएका ९६६ कन्टेनरमध्ये बाढी आउनुअघि करिब १७५ वटा सामान लिन केरुङतर्फ गएका थिए। ती सवारीसाधनमा कार्यरत चालक, सहचालक र स्वरोजगार मजदुर गरी चार सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको उनको भनाइ छ।
ठूला व्यापारी, भन्सार एजेन्ट र अन्य यात्रुलाई समेत जोड्दा सम्पर्कविहीन तथा फसेका व्यक्तिको संख्या एक हजारभन्दा बढी हुन सक्ने सापकोटाले बताएका छन्। प्रभावित क्षेत्रमा नारायणी, बल्खु र पोखरा–गण्डकीलगायत अन्य संस्थासँग आबद्ध सवारीसाधनसमेत फसेकाले क्षतिको आकार अझ ठूलो हुन सक्ने उनको दाबी छ।
सापकोटाले भन्सार कार्यालय र बाटोमा रहेका चेकपोस्टको नियम तथा ढिलासुस्तीका कारण क्षति बढेको आरोप लगाएका छन्।
रसुवागढी भन्सारबाट प्रक्रिया पूरा गरेर निस्किएका सवारीसाधनलाई धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिने गरेको उनको भनाइ छ। यही व्यवस्थाका कारण ७० देखि ८० कन्टेनर तीन–चार दिनसम्म सडक किनारमा रोकिएको र तीमध्ये केही बाढी तथा पहिरोमा परेको उनले बताएका छन्।
समयमै गन्तव्यतर्फ जान दिइएको भए क्षति कम हुन सक्ने उनको दाबी छ। सापकोटाका अनुसार नुवाकोटको बेत्रावती क्षेत्रमा पार्किङ गरिएका करिब ११५ कन्टेनरमध्ये ३० देखि ४० वटा त्रिशूली नदीले बगाएको छ। जोखिम मोलेर केही कन्टेनर सुरक्षित स्थानतर्फ सारिए पनि सबैलाई जोगाउन नसकिएको उनले बताएका छन्।
केरुङतर्फ गएका तथा चिनियाँ भूभागमा रहेका कन्टेनरको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको व्यवसायीहरूले जनाएका छन्।
उनीहरूले सम्पर्कविहीन मजदुरको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेका छन्।






