गुल्मी । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन् ।
आज बिहान कालीगण्डकी गाउँपालिका–४ स्थित पाती खोलामा आएको बाढी तथा वडा नं २ राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
त्यसैगरी मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटमा माथिबाट ढुंगा तथा गेग्रानसहितको पहिरो खसेपछि उक्त सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो गएको स्थानमा प्रहरी चौकी चारपालाबाट प्रहरी सहायक निरीक्षक विष्णु खनालको नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
दुवै स्थानमा सडक विभाग, स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए । दुवै सडकखण्डमा बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेका छन् भने सवारीसाधन र यात्रु बीचमै रोकिएका छन् ।






