काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसमक्ष आग्रह गरेका छन्।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा घोषणा गरी पीडितप्रति राज्यको सम्मान र संवेदना प्रकट गर्नुपर्ने बताएका हुन्।
नेपाली काँग्रेसका सांसद युवराज शर्माले राष्ट्रिय सभाका अध्यक्षमार्फत सरकारलाई भदौ १० गते राष्ट्रिय शोक दिवस घोषणा गर्न अनुरोध गरे। विपद्को कठिन अवस्थामा राजनीतिक तथा सामाजिक रूपमा एकताबद्ध भएर खोजी, उद्धार, राहत र पुन:स्थापनाका कामलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।
उनले विपद्पछि प्रचारमुखी गतिविधिभन्दा नागरिकको जीवनरक्षा र परिणाम देखिने कामलाई प्राथमिकता दिनुपर्ने बताए। उद्धार तथा राहतका क्रममा सुरक्षित व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे।
नेकपाकी सांसद मदनकुमारी शाह गरिमाले पनि राष्ट्रिय शोक घोषणा गरी एक दिन राष्ट्रिय झण्डा झुकाउनुपर्ने माग राखिन्। उनले जलवायु परिवर्तनमा विकसित तथा धनी मुलुकहरूको भूमिका रहेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर नेपालजस्ता मुलुकले व्यहोर्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने बताइन्।
यसैगरी नेकपाका सांसद सुरेशकुमार आलेमगरले विश्वका सम्पन्न मुलुकहरूले निम्त्याएको भूमण्डलीय तापक्रम वृद्धि तथा जलवायु परिवर्तनका कारण असामान्य प्राकृतिक विपद्का घटना बढिरहेको बताए। त्यसको क्षतिको ठूलो भार भने आर्थिक रूपमा कमजोर तथा विकासोन्मुख मुलुकले बेहोर्नुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
सांसदहरूले संसद्मा विपद्को मानवीय तथा वातावरणीय प्रभावबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्कालीन उद्धारसँगै दीर्घकालीन पुन:स्थापना र जलवायु न्यायका विषयमा समेत सरकारको स्पष्ट पहल आवश्यक रहेको बताएका छन्।






