काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लाका १५ स्थानीय तहलाई विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तहलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९’ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित स्थानीय तहलाई तत्काल राहत स्वरूप यो रकम प्रदान गरिनेछ ।
प्राधिकरणकाअनुसार रसुवा जिल्लाका चार स्थानीय तहमध्ये गोसाईंकुण्ड गाउँपालिकालाई १ करोड, उत्तरगया गाउँपालिकालाई ७५ लाख, कालिका गाउँपालिकालाई ३० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २० लाख रुपैयाँ पठाइनेछ ।
त्यसै गरी, नुवाकोटको विदुर नगरपालिकालाई १ करोड ५० लाख, बेलकोटगढी नगरपालिकालाई ७५ लाख, तारकेश्वर गाउँपालिकालाई ५० लाख र किस्पाङ्ग गाउँपालिकालाई २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धादिङको गल्छी गाउँपालिकालाई ३० लाख तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिकालाई जनही २० लाख रुपैयाँ उपलब्ध गराइनेछ ।
बैठकले गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई पनि जनही २० लाख रुपैयाँका दरले रकम पठाउने निर्णय गरेको छ । यसअघि भदौ ११ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३५ औँ बैठकले गरेको निर्णयअनुसार क्षतिको आधारमा यो थप रकम विनियोजन गरिएको हो । उक्त रकम स्थानीय तहले विपद् व्यवस्थापन र राहत वितरणका कार्यमा खर्च गर्नुपर्नेछ ।






