काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले विशेष अदालत, काठमाडौँबाट भएको फैसलामा चित्त नबुझेपछि बुधबार पुनरावेदन दर्ता गरेको जनाएको छ।
आयोगका अनुसार बटेश्वर गाउँपालिकाअन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ हाउस निर्माणका लागि बोलपत्र आह्वान तथा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने थियो।
तर, उक्त सूचना राष्ट्रिय दैनिकमा प्रकाशन नगरी गाउँपालिकाको ठेक्का प्रयोजनार्थ अभिलेखमा राख्न एक प्रति मात्र प्रकाशित गरिएको र प्रकाशन भएको भनी झुटा बिल-भरपाईका आधारमा भुक्तानीसमेत गरिएको आयोगको आरोप छ।
यस प्रकरणमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा ६ लाख ४४ हजार १ सय रुपैयाँ बिगो कायम गरेको थियो। प्रतिवादीहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना गर्न माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको थियो।
विशेष अदालतले २०८२ मङ्सिर १६ गते गरेको फैसलाप्रति चित्त नबुझेपछि आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको जनाएको छ।






