रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रको विकास, सम्पदा संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा सुरु भएको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष खड्गराज पौडेल ‘गणेश’ले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदाविद्, पर्यटन विज्ञ, विकास साझेदार र स्थानीय प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता रहेको छ ।
सम्मेलन उद्घाटन गर्दै मन्त्री पौडेलले लुम्बिनी कुनै एक देशको सीमाभित्र सीमित विषय नभएको बताएका छन् । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै लुम्बिनीको संरक्षण र विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
लुम्बिनीको सम्पदा संरक्षण तथा विकासका लागि विश्व बैंकको साझेदारीमा ‘ग्लाण्ड’ परियोजना अघि बढाइएको जानकारी दिँदै मन्त्री पौडेलले यसमार्फत लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनमा जोड दिइएको बताए ।
उनले लुम्बिनीलाई केवल भ्रमण गर्ने गन्तव्यका रूपमा नभई बुद्धका शिक्षाको अनुभव गर्ने, शान्ति र करुणाको विकास गर्ने तथा ध्यान, सचेतना र आध्यात्मिक एवं समग्र कल्याणको अनुभूति गर्ने स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस, विश्व बैंक, बौद्ध तथा स्थानीय समुदाय, विज्ञ र विकास साझेदारबीच साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने विश्वास मन्त्री पौडेलले व्यक्त गरे ।
उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद सिके गुप्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राई, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट तथा विश्व बैंक प्रतिनिधि इलाड सेनफेल्डलगायतले बृहत्तर लुम्बिनी क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन र सम्पदा संरक्षणका लागि सम्मेलन महत्वपूर्ण हुने धारणा राखेका थिए ।
सम्मेलनमा बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गतका स्थानीय तहका प्रमुख तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको युनेस्को संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले जानकारी दिइन् ।
बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनीका साथै प्राचीन तिलौराकोट दरबार, मायादेवीको माइतीघर मानिने देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम र पण्डितपुरलगायत महत्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थलहरू पर्छन् ।
संघीय सरकारले विश्व बैंकको सहयोगमा अघि बढाएको ‘ग्लाण्ड’ परियोजनाअन्तर्गत सम्मेलन आयोजना गरिएको हो । तीन दिनसम्म चल्ने सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।
लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल हो । विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको थियो । सम्मेलनबाट ती विषयमा समेत आवश्यक पहल र सहकार्यका लागि थप आधार तयार हुने अपेक्षा गरिएको छ ।






