काठमाडौँ । नेपालमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति अस्ट्रेलियाका गभर्नर-जनरल साम मोस्टिनले नेपाली समुदायसँग ऐक्यबद्धता जनाएकी छन्।
क्यानबेरास्थित नेपाली समुदायका प्रतिनिधिसँग भेट गर्दै मोस्टिनले विपत्तिबाट प्रभावित नेपाली नागरिक तथा परिवारको अवस्थाप्रति चासो व्यक्त गरेकी हुन्। भेटका क्रममा नेपाल-अस्ट्रेलिया सम्बन्धसँगै अस्ट्रेलियामा रहेका नेपाली-अस्ट्रेलियाली समुदायको अवस्थाबारे समेत छलफल भएको थियो।
अस्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटीको पहलमा गभर्नर-जनरलको सरकारी निवास गभर्नमेन्ट हाउस, क्यानबेरामा नेपाली समुदायका प्रतिनिधिका लागि विशेष चियापान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्यानबेरामा सक्रिय विभिन्न नेपाली संघ-संस्था तथा समुदायका प्रतिनिधिहरू सहभागी थिए।
विपत्तिले अस्ट्रेलियामा रहेका नेपाली परिवार पनि प्रभावित
नेपालमा बाढी तथा पहिरोबाट ठूलो क्षति भएपछि अस्ट्रेलियामा रहेका नेपालीहरू आफ्ना आफन्त, साथीभाइ र गाउँ–समुदायको अवस्थालाई लिएर चिन्तित बनेका थिए।
यस्तो अवस्थामा गभर्नर-जनरलसँग भएको भेटले नेपालमा विपत्तिबाट प्रभावित परिवारप्रतिको चासो र सहानुभूतिलाई उच्च तहमा अभिव्यक्त गर्ने अवसर दिएको अस्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटीले जनाएको छ।
मोस्टिनले यसअघि पनि नेपालमा भएको प्राकृतिक विपत्तिप्रति औपचारिक रूपमा समवेदना व्यक्त गरिसकेकी थिइन्। ३ सेप्टेम्बर २०२६ मा क्यानबेरास्थित नेपाली दूतावास पुगेर उनले शोक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्।
त्यस क्रममा उनले बाढी तथा पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, घर तथा जीविकोपार्जन गुमाएका नागरिक र बेपत्ता आफन्तको खोजीमा रहेका परिवारप्रति सहानुभूति व्यक्त गरेकी थिइन्। उनले विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका उद्धारकर्मी र स्वयंसेवकहरूको प्रयासको समेत प्रशंसा गरेकी थिइन्।
नेपाली समुदायले दिए सहयोगप्रति धन्यवाद
गभर्नमेन्ट हाउसमा आयोजित भेटघाटका क्रममा नेपाली समुदायका प्रतिनिधिहरूले नेपालमा आएको विपत्तिप्रति अस्ट्रेलियाले देखाएको मानवीय सहयोग र समर्थनका लागि गभर्नर-जनरलप्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा अस्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटीले गभर्नर-जनरल मोस्टिनलाई मैत्री स्कार्फ प्रदान गरेको थियो। सोसाइटीले आफ्नो ४२ वर्षको इतिहास, नेपाल-अस्ट्रेलिया सम्बन्धमा संस्थाको योगदान तथा दुई देशका समुदायबीचको सद्भाव प्रवर्द्धनमा खेलेको भूमिकाबारे समेटिएको प्रतिवेदनसमेत हस्तान्तरण गरेको थियो।
जवाफमा गभर्नर-जनरलले सोसाइटीलाई स्मरणस्वरूप एउटा स्मारक सिक्का प्रदान गरेकी थिइन्।
सोसाइटीका अनुसार कार्यक्रमका लागि स्थान सीमित रहेकाले संस्थाको गतिविधिमा लामो समयदेखि योगदान गर्दै आएका सबै व्यक्तिलाई कार्यक्रममा सहभागी गराउन सम्भव भएन। यद्यपि, कार्यक्रममा उपस्थित हुन नसकेका उनीहरूको योगदानलाई समेत सम्मानपूर्वक स्मरण गरिएको सोसाइटीले जनाएको छ।






