काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुंगे पुलको पुनर्निर्माण सम्पन्न भएको छ। पुलमा आवतजावत पूर्णरूपमा सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ।
बाढीले क्षति पुर्याएका पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम सम्पन्न गरी अन्तिम चरणमा जाली राख्ने कार्य पूरा भएपछि पुल सञ्चालनमा ल्याइएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिएको छ।
विभागका अनुसार धादिङ, नुवाकोट र गोरखामा रहेका थप १२ वटा झोलुंगे पुलको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ। ती पुलहरू आगामी एक साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
मर्मतको अन्तिम चरणमा रहेका पुलमा कालिकास्थान, मालिंगा-मझुवाटार दोभान, महेशदोभान, केउरेनी-गहते, चिरौंदी खोला, शीतलबजार-क्युरेनीटार, बेल्खु-भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुंगे पुल रहेका छन्।
यसैगरी, बाढीबाट क्षति पुगेका थप सात वटा झोलुंगे पुलको मर्मत कार्यसमेत सुरु भइसकेको छ। ती पुलको मर्मतका लागि आवश्यक स्टिल पार्ट्स व्यवस्थापनतर्फ पहिलो चरणको खरिद सम्पन्न भइसकेको र दोस्रो चरणको खरिदका लागि सम्झौता भइसकेको जनाइएको छ।
बाढीबाट पूर्णरूपमा क्षति भएका ३३ वटा झोलुंगे पुललाई नयाँ संरचनाका रूपमा पुनर्निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि अन्तिम तयारीमा पुगेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा यातायात तथा स्थानीय आवतजावत सहज बनाउन सरकारले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।






