काठमाडौँ। नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आइतबार बिहान जारी गरेको विशेष सूचनाअनुसार नारायणीको जलसतह खतरा तहभन्दा माथि पुगेको छ र अझै बढ्ने क्रममा छ।
हाल नदीको जलसतह खतरा तह ९ मिटर नाघेर करिब ११ मिटर पुगेको महाशाखाले जनाएको छ। उपलब्ध मापन र पूर्वानुमानका आधारमा जलसतह करिब १३ मिटरसम्म पुग्न सक्ने अनुमान छ।
बहाव आज दिउँसोसम्म बढिरहने र राति करिब ११ बजेतिर उच्चतम तहमा पुग्ने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज साँझसम्म जलसतह खतरा तहभन्दा माथि रहने सम्भावना उच्च छ।
नारायणीका सहायक नदीमध्ये कालीगण्डकीको बहाव खतरा तहमाथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपेको बहाव सतर्कता तहमाथि रहेको तथा बढ्दै गएको महाशाखाले जनाएको छ। बूढीगण्डकी र त्रिशूली नदीको बहावसमेत सतर्कता तह नजिक पुगेको छ।
उच्च बहावका कारण चितवन र नवलपरासीमा नारायणी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढी र डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा जान वा आवश्यकताअनुसार स्थानान्तरण हुन आग्रह गरिएको छ।
महाशाखाले नदी किनार, पुल र तटबन्धका जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न तथा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायले जारी गर्ने निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ।







