काठमाडौँ । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढी पहिरोले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग गरेकी हुन् । सांसद कठरियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् । समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चित प्राय: छ भने, अर्कोतिर अविरल वर्षाका कारण खेतमै बाली नोक्सान भएपछि किसान थप संकटमा परेका छन् । किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्न समेत कठिनाइ भोगिरहेको उनले सदनमा जिकिर गरिन् ।
खाद्य संस्थानहरूमा हप्तौँ लाइन बस्दा समेत सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पाउन नसक्दा किसानहरू बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ छ ।
सरकारको उदासीनताले किसानको मनोबल गिराएको भन्दै उनले भनिन्, ‘समयमा मल दिन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ ।’
उनले स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन र किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरिन् ।






