काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने स्पष्ट पारेका छन् ।
हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई आज भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने जनाउ दिए । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक यही असोज ५ देखि ८ गतेसम्म ललितपुरमा भएको थियो ।
लोकतन्त्रको रक्षा र अब हुने स्थानीय तहको निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अर्जुनदृष्टि लिएर लक्ष्यमा केन्द्रित हुन आग्रह गरे । अन्य कुनै दलसँग तत्काल पार्टी एकता नहुने तर चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ नबनी स्थलमै गएर योजना बनाउन निर्देशन दिए ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेललगायत नेताहरूको उपस्थिति थियो ।



