काठमाडौँ । बाढीमा परी दुई दाजु गुमाएपछि पाँच जना भतिज-भतिजीको पालनपोषण र भविष्य सुरक्षित गर्ने चिन्तामा रहेका सोनाम घोलेको परिवारलाई सरकारले दीर्घकालीन संरक्षणको व्यवस्था गरेको छ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको टोली सोनामको निवासमै पुगेर बालबालिकाको अवस्था तथा पारिवारिक परिस्थितिबारे जानकारी लिएपछि पाँचै जनालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा समेटिएको हो।
ललितपुरमा थोरै जग्गा भाडामा लिएर परिवारसहित बस्दै आएका सोनामसँग उनका दुई दाजु पनि आफ्ना छोराछोरीसहित बस्दै आएका थिए। दुवै दाजुका श्रीमतीको यसअघि नै मृत्यु भइसकेको थियो। त्यसपछि उनीहरूका बालबालिकाका लागि बुबा नै मुख्य अभिभावक थिए।
दुवै दाजु परिवारको जीविकोपार्जनका लागि डकर्मीको काम गर्दै आएका थिए। मजदुरीका लागि नुवाकोट पुगेका उनीहरू बाढीपछि बेपत्ता भएका थिए। दुई दाजु एकै पटक गुमेपछि सोनामको काँधमा आफ्नै परिवारसँगै चार जना भतिज–भतिजी र गाउँमा रहेका थप एक जना गरी पाँच बालबालिकाको जिम्मेवारी आइपुगेको थियो।
आफ्नै परिवारको दैनिक आवश्यकता धान्न कठिन अवस्थामा पाँच बालबालिकाको पालनपोषण, शिक्षा र भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले सोनामलाई सताएको थियो।
मन्त्रालयको टोलीले सोनामको घरमै पुगेर घटनाको विवरण र बालबालिकाको अवस्थाबारे जानकारी लिएपछि उनीहरूलाई सरकारी अस्थायी संरक्षण केन्द्रमा समेत लगिएको थियो। त्यहाँ बालबालिकालाई आवश्यक संरक्षणसँगै मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
तत्कालीन राहत तथा संरक्षणमा मात्र सीमित नराखी बालबालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्न सरकारले उनीहरूलाई विशेष स्याहार योजनामा समेटेको हो।
योजनाअन्तर्गत आर्थिक सहयोग गर्ने एमआईटीजीएफका प्रतिनिधि तथा राष्ट्रिय बाल अधिकार परिषद्का कर्मचारी सोनामको निवासमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी पाँचै बालबालिकालाई कार्यक्रममा आबद्ध गरेका छन्।
योजनाअनुसार अब ती बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण तथा आवश्यक हेरचाहका लागि राज्यबाट सहयोग उपलब्ध हुनेछ।
बालबालिकालाई विपद्पछिको तत्कालीन राहतमा मात्र सीमित नराखी उनीहरूको शिक्षा, संरक्षण, विकास र भविष्य सुनिश्चित गर्ने उद्देश्यले दीर्घकालीन स्याहारको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
दुई दाजु गुमाएपछि बालबालिकाको भविष्यलाई लिएर चिन्तित सोनामले सरकारले उनीहरूको शिक्षा, पालनपोषण र हेरचाहको जिम्मेवारी लिने भएपछि आफूलाई ठूलो राहत मिलेको बताएका छन्।
उनका अनुसार विपद्का कारण परिवारमा आएको अपूरणीय क्षतिका बीच बालबालिकाको भविष्य सुरक्षित हुने अवस्था बनेकामा उनी सरकारप्रति आभारी छन्।



