काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज १४ गते राति करिब १ बजे काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित अस्पतालको आकस्मिक कक्षमा आएका व्यक्तिहरूले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की र हातपात गरेको सूचना प्राप्त भएको थियो।
सूचनापछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले घटनास्थल पुगेर तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका-४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की तथा हातपात गरेको आरोप छ।
घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका तीनै जनामाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।



