काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षमता विस्तार र आधुनिकीकरणका लागि उपकरण खरिद गर्न चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन्। प्रयोगशालाको आफ्नै भवन निर्माणको तयारीसमेत अघि बढाइएको उनले जानकारी दिएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा मन्त्री पुनले लामो समय गठन आदेशका आधारमा सञ्चालित प्रयोगशालालाई कानुनी र संस्थागत रूपमा व्यवस्थित गर्दै अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भोटेकोशी बाढीका पीडितको डीएनए परीक्षणका क्रममा प्रयोगशालाको सीमित क्षमता देखिएको उल्लेख गर्दै उनले स्वदेशमै भरपर्दो परीक्षण गर्न सक्ने संरचना आवश्यक रहेको बताएका छन्। त्यसबेला विदेशी टोलीको सहयोगमा परीक्षण गर्नुपरेको उनको भनाइ छ।
मन्त्री पुनले प्रयोगशालाहरू टहरा र भाडाका घरमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्दै आफ्नै भवन र आधुनिक उपकरणको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य थालेको बताएका छन्। उनका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को परिसरमा अत्याधुनिक भवन निर्माणका लागि डिजाइनको काम अघि बढेको छ। भवन निर्माणका लागि थप बजेट व्यवस्थापन गरिने पनि उनले जानकारी दिएका छन्।
हाल सञ्चालनमा रहेका साना प्रयोगशालाको आधुनिकीकरणसँगै प्रयोगशाला स्थापना हुन बाँकी प्रदेशमा पनि विस्तार गर्ने सरकारको योजना रहेको मन्त्री पुनले बताएका छन्।
संसदीय समितिमा डीएनएको सुरक्षाबारे विस्तृत छलफल भएको उल्लेख गर्दै उनले न्याय सम्पादनसँग जोडिएको परीक्षणको संवेदनशीलतामा जोड दिएका छन्। डीएनए परीक्षणको सुरक्षा र शुद्धतामा कुनै सम्झौता नगरिने उनको भनाइ छ।



