काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक क्रमभंग गर्दै अघि बढ्न सुझाव दिएका छन्।
थापाले क्रमभंग गरेको उल्लेख गर्दै उनले लामिछानेलाई पनि त्यसतर्फ अघि बढ्न आग्रह गरेका छन्।
काठमाडौँको खुलामञ्चमा आयोजित काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले विगतमा आफूले पटक पटक क्रमभंग गरेको स्मरण गरेका छन्। अहिले भने आफूलाई त्यसो गर्न केही कठिन हुन थालेको उनको टिप्पणी थियो।
‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि । अब पालो गगनजीहरूको हो, तपाईँ क्रमभंग गर्दै जानुस् । अब पालो रविजीहरूको हो, तपाईँले अझै क्रमभंग गर्न बाँकी छ । तपाईँले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल,’ उनले भनेका छन्।
थापा र लामिछानेप्रति भरोसा रहेको भनाइ
प्रचण्डले थापा र लामिछाने दुवै आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री रहेको स्मरण गर्दै उनीहरूको राजनीतिक चेतको प्रशंसा गरेका छन्। दुवैप्रति आफ्नो माया, भरोसा र सम्मान रहेको उनको भनाइ छ।
‘मलाई सबैप्रति उत्तिकै माया छ,’ उनले भनेका छन्, ‘उत्तिकै भरोसा र सम्मान छ । मलाई विश्वास छ आउने दिनमा हामी सबैले समृद्ध नेपाल निर्माण गर्नेछौँ । यही शुभकामना सबैलाई ।’
उनले आगामी दिनमा सबै मिलेर समृद्ध नेपाल निर्माण गर्ने विश्वास व्यक्त गर्दै महाधिवेशनको सफलताको शुभकामना दिएका छन्।



