काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा निवर्तमान सहमहामन्त्रीहरू माथिल्लो पदको प्रतिस्पर्धामा उत्रिएका छन्। जीवन परियार र फरमुल्लाह मन्सुरले समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् भने महालक्ष्मी उपाध्याय ‘डिना’ले महिला महामन्त्रीमा उम्मेदवारी दिएकी छन्।
मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत तीनै जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
परियार र मन्सुर दुवै काँग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। परियार दलिततर्फ र मन्सुर मुस्लिमतर्फबाट सहमहामन्त्री निर्वाचित भएका हुन्।
मन्सुर गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा समेत सहभागी भएका थिए। उक्त महाधिवेशनबाट पनि उनी सहमहामन्त्री चयन भएका थिए।
डिनाको नजर महिला महामन्त्रीमा
१४औँ महाधिवेशनबाट महिलातर्फ सहमहामन्त्री निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’ले यसपटक महामन्त्रीमा उम्मेदवारी दिएकी छन्।
काँग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गर्दै महामन्त्रीको संख्या तीन पुर्याएको छ। तीमध्ये एक महामन्त्री महिला अनिवार्य गरिएको छ। यससँगै काँग्रेसको इतिहासमा पहिलो पटक छुट्टै महिला महामन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो।
डिनाले यसअघि नै सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले यसपटक त्यसभन्दा माथिल्लो पदमा प्रतिस्पर्धा गर्ने बताएकी थिइन्। अन्ततः उनले नयाँ व्यवस्था गरिएको महिला महामन्त्री पद रोजेकी हुन्।
महिला महामन्त्रीमा डा.डिला संग्रौला पन्तसमेत प्रतिस्पर्धामा रहेकी छन्।
पदाधिकारीमा माथिल्लो तहको प्रतिस्पर्धा
काँग्रेसको संशोधित विधानले यसपटक केन्द्रीय पदाधिकारीको संख्या १४ बाट बढाएर २६ पुर्याएको छ। उपसभापतिको संख्या चार र महामन्त्रीको संख्या तीन कायम गरिएको छ।
नयाँ व्यवस्थासँगै विगतमा विभिन्न समावेशी समूहबाट सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका नेताहरूका लागि माथिल्लो पदमा प्रतिस्पर्धाको दायरा पनि फराकिलो भएको छ।
त्यसैअनुसार १४औँ महाधिवेशनबाट फरक–फरक समावेशी समूहको सहमहामन्त्रीमा निर्वाचित परियार, मन्सुर र उपाध्याय तीनै जना १५औँ महाधिवेशनमा एक तह माथिको पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।



