काठमाडौँ । विश्व आर्थिक स्वतन्त्रताको वरीयतामा नेपाल एक स्थान तल झरेर ९०औँ स्थानमा पुगेको छ। गत वर्ष ८९औँ स्थानमा रहेको नेपाल यस वर्ष १६५ देशमध्ये ९०औँ स्थानमा परेको हो।
समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६’ वार्षिक प्रतिवेदनअनुसार नेपालले १० पूर्णाङ्कमा ६.५९ अंक प्राप्त गरेको छ। अघिल्लो वर्ष नेपालको अंक ६.५८ थियो।
यस आधारमा नेपालको आर्थिक स्वतन्त्रताको अंकमा ०.०१ ले सुधार भए पनि अन्य देशको तुलनात्मक प्रदर्शनका कारण विश्व वरीयतामा एक स्थान गिरावट आएको देखिएको छ। समृद्धि फाउन्डेसनले नेपालमा यो प्रतिवेदन सार्वजनिक गरेको यो लगातार १९औँ वर्ष हो।
प्रतिवेदनले आर्थिक स्वतन्त्रताको मापन गर्दा व्यक्तिले आर्थिक निर्णय लिन पाउने स्वतन्त्रता, सम्पत्तिको सुरक्षा, स्वैच्छिक कारोबार तथा बजारमा प्रतिस्पर्धालगायत विभिन्न पक्षलाई आधार बनाउने गरेको छ।
कोभिडअघिको स्तरभन्दा माथि
वरीयतामा सामान्य गिरावट देखिए पनि नेपालको आर्थिक स्वतन्त्रताको अंक कोभिड–१९ महामारीका क्रममा आएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको प्रतिवेदनले देखाएको छ।
सन् २०१९ मा नेपाल ६.५२ अंकसहित ९८औँ स्थानमा थियो। पछिल्लो प्रतिवेदनमा अंक बढेर ६.५९ पुगेको छ। यसले महामारीअघिको तुलनामा नेपालको समग्र अंक सुधारिएको देखाए पनि अन्तर्राष्ट्रिय वरीयतामा अपेक्षाकृत ठूलो सुधार हुन सकेको छैन।
प्रतिवेदनले आर्थिक स्वतन्त्रता बढी भएका मुलुकमा प्रतिव्यक्ति आय र औसत आयु तुलनात्मक रूपमा उच्च रहेको तथ्यसमेत प्रस्तुत गरेको छ।
प्रतिवेदनअनुसार आर्थिक स्वतन्त्रताको माथिल्लो २५ प्रतिशतमा रहेका मुलुकमा सन् २०२४ को औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर थियो। यस समूहमा संयुक्त अधिराज्य, जापान र आयरल्यान्डलगायत मुलुक समावेश छन्।
आर्थिक स्वतन्त्रतामा तल्लो २० प्रतिशतमा रहेका भेनेजुएला, इरान र सुडानलगायत मुलुकको औसत प्रतिव्यक्ति आय भने नौ हजार ५५२ अमेरिकी डलर रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, आर्थिक स्वतन्त्रताको माथिल्लो २५ प्रतिशतमा रहेका देशका नागरिकको औसत आयु ८०.७ वर्ष रहेकोमा तल्लो २५ प्रतिशतमा रहेका देशमा औसत आयु ६७.१ वर्ष रहेको प्रतिवेदनले देखाएको छ।
फ्रेजर इन्स्टिच्युटका आर्थिक स्वतन्त्रतासम्बन्धी डा. माइकल ए. वाकर अनुसन्धान अध्यक्ष फ्रेड म्याकमहोनले मानिसले आफ्ना अवसर खोज्न र आर्थिक निर्णय आफैँ गर्न बढी स्वतन्त्रता पाएका मुलुकमा समृद्धि र जीवनस्तरसम्बन्धी सूचकसमेत उच्च देखिने बताएका छन्।
यस वर्ष नेपालले प्राप्त गरेको ६.५९ अंकले आर्थिक स्वतन्त्रताको स्तरमा सामान्य सुधार देखाए पनि विश्वका अन्य अर्थतन्त्रको तुलनामा नेपालको स्थान भने एक तह तल झरेको छ।



