काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।
चाडबाडको समयमा हुनसक्ने कालोबजारी, म्याद सकिएका वस्तुको बिक्री र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले महानगरको टोलीले बिहीबार सामाखुसी लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने गर्दछ । यही मौका छोपी केही व्यवसायीले म्याद सकिएका, गुणस्तरहीन र अस्वस्थकर वस्तुहरू विक्री गर्ने सम्भावना रहने भएकाले महानगरले विशेष टोली परिचालन गरेको हो । बिहीवार सामाखुसी क्षेत्रका पसल र व्यावसायिक प्रतिष्ठानहरूमा गरिएको अनुगमनका क्रममा महानगरको टोलीले खाद्य वस्तुको म्याद, मूल्यसूचीको उपलब्धता र पसल दर्ता प्रमाणपत्रको जाँच गरेको थियो ।
महानगरकाअनुसार उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै अनुगमनलाई निरन्तरता दिइनेछ । अनुगमन टोलीले नियमविपरित व्यापार गरिरहेका व्यवसायीलाई सचेत गराउनुका साथै कानूनबमोजिम कारबाहीको चेतावनी समेत दिएको छ । महानगरका अधिकारीहरूले उपभोक्तालाई पनि सामान खरिद गर्दा लेबल, उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा हेर्न आग्रह गरेका छन् । यस प्रकारको अनुगमनले चाडपर्वको समयमा बजारमा हुने विकृति रोक्न मद्दत पुग्ने विश्वास महानगरको छ ।



