काठमाडौँ । इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेका छन् ।
कलेजका बिएचएम र बिटिटिएम संकायमा अध्ययनरत विद्यार्थीहरू, कर्मचारी तथा व्यवस्थापन टिमले प्राकृतिक प्रकोपबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख पाँच हजार रुपैयाँ जम्मा गरेका हुन् ।
कलेजका सिइओ नरेन्द्र बर्जाचार्य, प्रिन्सिपल सम्झना विष्ट बस्नेत र निर्देशक तेजबहादुर ढकालले सहयोग रकमको चेक ऊर्जा मन्त्री श्रेष्ठलाई सोमबार मन्त्रालयमा हस्तान्तरण गरेका छन् । सो अवसरमा पूर्व उपसभामुख इन्दिरा राना मगर सहभागी थिइन् । कलेजका लेखा प्रमुख रमेश प्रजापतिले बाढी पीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि कलेजका तर्फबाट हातेमालोको प्रयास गरिएको बताए ।
यो योगदानले नेपालको आतिथ्य क्षेत्रका भावी व्यवसायीका रूपमा रहेका युवाहरूमा रहेको करुणा, ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको भावनालाई झल्काउने कलेजले जनाएको छ । यस पहलमार्फत विद्यार्थी, कर्मचारी र कलेज व्यवस्थापनले प्राकृतिक प्रकोपका कारण कठिनाइ र पीडा भोगिरहेकाहरूप्रति आफ्नो सहानुभूति प्रकट गरेको पनि कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस कार्यले दक्ष हस्पिटालिटी व्यवसायी मात्र नभई समाजप्रति चासो राख्ने र विपत्तिको समयमा एकजुट हुने जिम्मेवार नागरिक तयार पार्नुको महत्त्वलाई उजागर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।



