सप्तरी । तराई मधेसमा दसैँमा ढोल(नगरा)बजाउने चलन लोपोन्मुख हुँदै गएको छ । घरआँगनमा ढोल बजेपछि मात्र दसैँ आएजस्तो लाग्थ्यो । अहिले दसैँमा ढोल बजाउन छोडेपछि दसैँ आएको जस्तै लाग्दैन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी ९५ वर्षीया जशोधिया चौधरीले बताइन्।
उनले भनिन्, “दसैँको सुरुआतसँगै घटस्थापनाकै दिनदेखि टोलटोलका प्रत्येक घरआँगनमा ढोल बजेको आवाज सुनेपछि दसैँ आएको भित्रैबाट महसुस हुन्थ्यो । अहिले प्रत्येक वर्ष दसैँ त आउँछ तर ढोल बजाउन कोही आँउदैन । ढोल बज्दा जुन दसैँको आन्नद आउँथ्यो । अहिले त्यो आनन्द महसुस हुँदैन । दसैँ आएको जस्तै लाग्दैन उनले भनिन्। ”
दसैँ सुरु हुनुअघि नै घरआँगन सफा गरेर लिपपोत गरिन्थ्यो । घटस्थापनाको दिनदेखि नै एकाबिहान ढोल बोकेर राम९चमार० समुदायका व्यक्ति घर आउने र आँगनमा चारपाँच फन्को लगाएर ढोल बजाएको दृश्यले भित्रैबाट दसैँको खुसीयाली महसुस गराएपछि छुट्टै आनन्द लाग्ने गरेको उनले बताइन् ।
विसं २०६२/६३ को मधेस आन्दोलनले पहिचानसहितको अधिकार सुनिश्चित गरेसँगै दसैँमा अनिवार्य ढोल बजाउने प्रथा दिनप्रतिदिन हराउँदै गएको हो । तराई मधेसमा राम (चमार)समुदायले ढोल बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि यो पेसालाई तल्लो दर्जा महसुस गरी सामूहिक रूपमा ढोल बजाउन छाडेपछि घरआँगनमा ढोल बजाउने परम्परा हराउँदै गएको राजविराज नगरपालिका–१३ का ७० वर्षीय सुखिया रामले बताए ।
विजयादशमी अर्थात् दसैँको अन्तिम दिन ढोल बजाउने ढोलहालाई घरधनीले पैसा, चपल, लुगा जेजे सकिन्छ दिने चलन रहेको उनले बताए। उनले भने, “अहिले पनि अष्टमी, नवमी र दशमीको दिन कतैकतै मन्दिरमा ढोल बजाउने चलन अझै कायम छ । समुदायमा गएर घरआँगनमा ढोल बजाउन छाडेपछि चमार समुदायको पेसा सङ्कटमा परेको छ । दसैँमा एक दिनमा २०० घरमा ढोल बजाउँदा त्यतिबेला डेढदेखि दुई लाख आम्दानी हुँदा एक वर्षसम्म घर गृहस्थी चलाउन थप सहयोग हुने गरेको थियो । हाम्रो जातजातिको धनी परिवारलाई यसले असर नपारे पनि दसैँमा ढोल बजाउने ढोलहाको परिवारलाई आर्थिक रूपमा संकट परेको राजविराज नगरपालिका–१ की ८० वर्षीया जशोधियादेवी रामले बताए ।
उनले भने, “ढोल बजाउन रोक लागेपछि धनी परिवारलाई समस्या नभए पनि विपन्न परिवारलाई अत्यधिक समस्या हुँदै आएको छ । हाम्रो परम्परादेखिको संस्कृति र पहिचानसमेत लोप हुँदै गएको उनले बताए ।
यसैबीच जिल्लाको छिन्नमस्ता गाउँपालिकाका शिवु राम दुई दशकदेखि लोप हुँदै आएको परम्परा निरन्तरता दिन गत वर्षदेखि दसैँका अवसरमा दिनहुँ बस्तीमा भएको प्रत्येक घरमा गएर ढोल बजाउँदै आएका छन् । दसैँमा दुई दशकदेखि ढोल बजेको नदेखेपछि हाम्रो परम्परा र संस्कृति लोप हुन थालेको महसुस गरेर वडाध्यक्षको अनुमति लिएर ढोल बजाउन थालेको उनले बताए। दुई दशकपछि छिन्नमस्ता गाउँपालिकामा ढोल बजाएको हेर्न पाउँदा पुरानो दसैँ ताजगी भएको महसुस भएको स्थानीयवासीको भनाइ छ ।



