काठमाडौँ । नेपाली काँग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको सिकार भएको आरोप लगाएकी छिन् ।
शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पन्तले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गरिरहनु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको जिकिर गरिन् । नेतृ पन्तले सरकारसँग स्पष्ट दृष्टिकोणको अभाव रहेको बताउँदै सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा सरकारको ध्यान नगएको आरोप लगाइन् । उनले राष्ट्रिय सभामा विधेयकहरू ल्याउन पटक–पटक आग्रह गर्दा पनि सरकारले संसदको गरिमा नराखेको गुनासो गरिन् । सहकारी ऐनका केही प्रावधानमा विपक्षले विरोध गर्दागर्दै पनि सरकारले बहुमतको दम्भमा त्यसलाई अगाडि बढाएको उनले स्मरण गराइन् ।
उनले भनिन्, ‘सरकार सैद्धान्तिक रूपमा विचलित छ । सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? हप्तैपिच्छे कानुन संशोधन गर्ने र अध्यादेशको सहारा लिने कार्यशैलीले सरकारको असफलता पुष्टि हुन्छ । हामीले पटक-पटक संसदीय प्रक्रियामार्फत कानुन बनाउन सुझाव दिएका थियौँ । राष्ट्रिय सभामा विधेयक ल्याएको भए हामीले घनिभूत छलफल गरी त्यसलाई परिष्कृत गर्न सक्थ्यौँ, तर सरकारले संसद् छल्ने बाटो रोज्यो । विपक्षले दिएका सुझावलाई मार्गनिर्देशनका रूपमा लिनुको साटो सरकारले हामीलाई शत्रुको रूपमा हेर्छ । यो सरकार विक्षिप्त अवस्थामा छ ।’
प्रतिपक्षलाई विश्वासमा लिनुको साटो शत्रुतापूर्ण व्यवहार गरेको पन्तको आरोप छ । काँग्रेस महाधिवेशनबाट आएको नयाँ नेतृत्वसहित सरकारलाई सही बाटोमा हिँडाउने कार्यमा लाग्ने पन्तले प्रतिबद्धता जनाइन् ।




