काठमाडौँ । वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुला हुने ऐतिहासिक तलेजु भवानी मन्दिर महानवमीका अवसरमा भोलि कात्तिक ३ गते मंगलबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने भएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र अवस्थित मन्दिरमा भक्तजनलाई सहज रूपमा पूजा, आराधना तथा दर्शन गर्ने व्यवस्था मिलाइने भएको हो । हनुमानढोका दरबार हेरचाह अड्डाले सोमबार सरोकारवाला निकायसँग गरेको छलफलपछि मन्दिर १३ घण्टासम्म खुला राख्ने निर्णय गरेको जनाएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तलेजु भवानी मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणलाई प्रवेश दिइन्छ । यही अवसरमा देवीको दर्शन तथा पूजाआराधनाका लागि हजारौँ श्रद्धालु हनुमानढोका दरबार क्षेत्रमा पुग्ने गरेका छन् ।
यस वर्षको दसैँ पूजाअन्तर्गत तलेजु भवानीलाई नेपाल पञ्चांग निर्णायक विकास समितिले निर्धारण गरेको शुभसाइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ बजेर ३७ मिनेटमा मूलचोकमा यात्रा गराइएको थियो । त्यसै दिन बिहान १० बजेर ३९ मिनेटमा देवीलाई मूलचोकस्थित स्थिरासनमा विराजमान गराइएको थियो ।
महाअष्टमीका अवसरमा आज राति मूलचोकमै विशेष कालरात्रि पूजा आयोजना गरिँदैछ । परम्पराअनुसार हुने उक्त पूजामा ५४ बोका र ५४ राँगाको बलि चढाएर तलेजु भवानीको विशेष आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।
तलेजु भवानीलाई विजयादशमीसम्म मूलचोकमै राखेर विधिपूर्वक पूजा तथा आराधना गर्ने परम्परा छ । विजयादशमीका दिन कात्तिक ४ गते बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा देवीको पुन: यात्रा गराइने कार्यक्रम तय भएको छ ।
त्यसपछि बिहान ११ बजेर ५२ मिनेटको निर्धारित साइतमा तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइनेछ । यससँगै यस वर्षको दसैँअन्तर्गत तलेजु भवानीको विशेष पूजाआराधनाको प्रक्रिया सम्पन्न हुनेछ ।



