काठमाडौँ । मकवानपुर प्रहरीले भन्सार छली गरी ल्याइएका चाँदीका विभिन्न किसिमका गरगहना तथा सिक्कासहित चार जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बा ३ च ७०७९ नम्बरको कारको डिक्कीभित्र फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएका गरगहना तथा सिक्कासहित उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिए ।
बरामद गरिएका गहना र सिक्काको बजार मूल्य करिब रु. ४० लाख ६९ हजार ६६१ बराबरको जनाइएको छ । ती गहना र सिक्कासहित चाँदीको तौल १४ किलो १८० ग्राम छ ।
ती सामग्री ओसारपसारमा संलग्न भारत मोतिहारीका रमेशकुमार साह सोनार, चन्दादेवी सोनार, अजित साह सोनार र नन्दनीकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ गरिएका व्यक्तिसहित बरामद गरिएको सामग्री भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।




