काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक संस्थामा कार्यरत रहँदै राजनीतिक दलमा जिम्मेवारी लिएको आरोप लागेका कर्मचारीमाथि कानुनी कारबाही अघि बढाउन सम्बन्धित सरकारी निकायमा सिफारिस गरेको छ।
पार्टीमा प्राप्त उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि पत्राचार गरिएको रास्वपाका सचिवालय सदस्य कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
बुर्लाकोटीका अनुसार सार्वजनिक संस्थामा जागिर खाइरहेका व्यक्तिहरूले राजनीतिक दलको जिम्मेवारीसमेत सम्हालेको विषयमा पार्टीमा उजुरी परेको थियो। सोही उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायमा पठाइएको हो।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक संस्थामा कार्यरत रहँदै राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरी कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको उल्लेख गरेका छन्।
उजुरीमा परेका कर्मचारी काठमाडौँका रहेको बुर्लाकोटीले बताएका छन्। यद्यपि, उनीहरू कार्यरत संस्थाको नाम, पद तथा व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।




