खोटाङ । दसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । दसैँ मनाउन घर आएका नागरिक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, दलित तथा जनजाति प्रमाणितलगायत सेवा लिन कार्यालयको भीड बढेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबार मात्रै ८१ जनाले नयाँ नागरिकता लिएका छन् । जसमध्ये ४९ पुरुष र ३२ महिला छन् । त्यस्तै, ३२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा २० पुरुष र १२ महिला छन् ।
कार्यालयबाट ११ जनाले राहदानी लिएका छन् भने २८ जनाले राहदानीका लागि नाम दर्ता (इनरोलमेन्ट) गराएका छन् । यसैगरी, ६३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् भने एक जनाले नाबालक परिचयपत्र बनाएका छन् ।
यस्तै, छ वटा सिफारिस प्रमाणित गरिएको छ भने अन्य निकायमा आठ वटा पत्र पठाइएको छ । नागरिक एपमार्फत प्राप्त २० वटा गुनासो फर्छ्योट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दसैँको बिदामा घर आएका अधिकांश नागरिक चाडपर्वपछि आफ्नो कर्मथलो फर्कने क्रममा सदरमुकाम आएर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य सिफारिस र कागजात बनाउने गरेका छन् । यसले गर्दा कार्यालयमा सेवाग्राहीको चाप बढेको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए।
कतिपय फाँटमा सेवाग्राहीले एक अर्काको पालो नमिचून् भन्ने उद्देश्यले कार्यालयले टोकन प्रणाली लागू गरेको छ । जिल्लाका अन्य सरकारी कार्यालयको तुलनामा जिल्ला प्रशासन कार्यालयमा अहिले सेवाग्राहीको चाप बढी देखिएको छ ।




