काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दियो पोस्टको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। काठमाडौँको अनामनगरस्थित कार्यालयमा पुगेका प्रहरीले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजी गरेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन्।
दियो पोस्टका पत्रकारहरूका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आएका प्रहरी प्रधानसम्पादक विश्वकर्मा र समाचार संयोजक ढुंगानाबारे सोधपुछ गरी फर्किएका थिए।
दियो पोस्टले प्रधानन्यायाधीशसम्बन्धी समाचार प्रकाशित गरेपछि धम्की आएको विषयमा समेत समाचार प्रकाशन गरेको छ। यद्यपि, प्रहरी कार्यालयमा पुग्नुको कारण र उक्त समाचारसँग प्रहरीको उपस्थितिको सम्बन्धबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
यसअघि काठमाडौँको पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका थिए। त्यस्तै, नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




