डोल्पा । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका थप दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा आज त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरबाट उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ निवासी २९ वर्षीय कालीप्रसाद रोकाय रहेका छन्। जबरजस्ती करणीसम्बन्धी कसुरमा उनलाई ८ वर्ष कैद सजाय तोकिएको थियो।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–९ निवासी १९ वर्षीय कैलाश भन्ने कपिल परियार पनि पक्राउ परेका छन्। उनी नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




