काठमाडौँ। रौतहटको गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।
मंगलबार राति करिब ९:१५ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। पेस्तोलबाट प्रहार गरिएका गोलीका छर्रा लागेर उनको दाहिने खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते यादवलाई सुरुमा प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको बताइएको छ।
घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीन वटा खाली खोका समेत फेला परेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान गरिरहेको जनाएको छ।




