काठमाडौँ । सिरहा नगरपालिका-११, भलुवाहीस्थित चौहर्वा-सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरणको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको ना.१ घ ५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स.९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०:२५ बजे मृत घोषणा गरेका थिए।
मृतक दुवैको नाम, ठेगाना र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान तथा आफन्तको खोजी भइरहेको छ।
दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाको कारणबारे थप विवरण खुल्न बाँकी छ।





