काठमाडौँ । एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्यांकको नियमित विश्लेषण र त्यसका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जोड दिएकी छन् ।
एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्यांक संकलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्। चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्ने, तोकिएको मात्रा र अवधिभन्दा फरक तरिकाले प्रयोग गर्ने तथा जथाभावी बिक्री वितरण गर्ने प्रवृत्तिले एन्टिमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउने भएकाले यसको नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग प्रवर्द्धनका लागि औषधिको प्याकेजिङमा रातो धर्सा राख्ने, विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि सिफारिस नगरेका १०३ प्रकारका एन्टिबायोटिकको दर्ता, नवीकरण, आयात तथा उत्पादनमा रोक लगाउने र सुरक्षित प्रयोगका लागि समूहका एन्टिबायोटिक अस्पतालका औषधि पसलबाट मात्र बिक्री वितरण गर्ने व्यवस्थालगायतका नियामकीय प्रयास भइरहेको उनले उल्लेख गरिन् ।





