काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले अवधि भाषामा प्रकाशन हुने वार्षिक पत्रिका ‘दवहरा’को तेस्रो अंकका लागि संस्कृति विषयमा केन्द्रित लेख–रचना आह्वान गरेको छ।
प्रतिष्ठानले कात्तिक १८ गते सूचना जारी गर्दै अवधि संस्कृतिका विविध पक्ष समेटिएका अनुसन्धानमूलक तथा विश्लेषणात्मक लेख पठाउन लेखक, अनुसन्धानकर्ता र संस्कृतिकर्मीहरूलाई अनुरोध गरेको हो।
प्रतिष्ठानका अनुसार पत्रिकाको आगामी अंकलाई संस्कृति विशेषका रूपमा प्रकाशन गरिनेछ। यसका लागि अवधि संस्कृति विषयमा आधारित विश्लेषणात्मक लेख–रचनालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
अनुसन्धानात्मक लेख तयार गर्दा सन्दर्भ सूची, अनुसूची तथा लेखसँग सम्बन्धित अन्य सामग्रीसहित बढीमा तीन हजार शब्दमा सीमित गर्नुपर्नेछ। लेखसँगै लेखकको नाम, इमेल ठेगाना, सम्पर्क नम्बर र संक्षिप्त परिचयसमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
प्राप्त लेख–रचना प्रकाशनका लागि स्वीकार गर्ने वा नगर्ने अन्तिम अधिकार पत्रिकाको सम्पादक मण्डलमा रहने प्रतिष्ठानले स्पष्ट पारेको छ।
‘दवहरा’को तेस्रो अंकका लागि लेख-रचना पठाउने अन्तिम समय २०८३ मङ्सिर मसान्त तोकिएको छ। यद्यपि, अन्य अंकका लागि भने त्यसपछि पनि लेख-रचना पठाउन सकिने सूचनामा उल्लेख छ।
इच्छुक लेखक तथा अनुसन्धानकर्ताले आफ्ना लेख-रचना ईमेलमा पठाउन सक्नेछन्।






