काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतना कमजोर बन्दै जाँदा राजनीतिक वातावरणसमेत अस्थिर बनेको टिप्पणी गरेका छन्।
सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा स्वार्थ तथा विध्वंसको प्रवृत्ति हाबी हुन थालेको बताएका हुन्।
राजनीति र समाजमा देखिएका विकृतिलाई सांस्कृतिक मूल्यमा आएको ह्राससँग जोड्दै उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा तोडफोड र आगजनी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। निर्माण भएका संरचना ध्वस्त पार्ने गतिविधिले विकासको गति मात्र अवरुद्ध नगरी सामाजिक सद्भाव र देशको प्रतिष्ठामा समेत असर पार्ने उनको भनाइ थियो।
ओलीले आफ्नो नेतृत्वमा सरकार रहेका बेला सार्वजनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको दाबी गरे। गोदावरीमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सभागृह, विभिन्न स्थानका रंगशाला तथा अन्य संरचनालाई उनले त्यसका उदाहरणका रूपमा प्रस्तुत गरे।
भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हल आवश्यक रहेको उल्लेख गर्दै ओलीले सामान्य कार्यक्रम आयोजना गर्न पनि निजी पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। सार्वजनिक उपयोगका संरचना निर्माणमा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दा पहिलेभन्दा बलियो र व्यवस्थित बनाउने प्रयास गरिएको उल्लेख गर्दै उनले दशरथ रङ्गशालाको पुनर्निर्माण तथा पोखरालगायतका स्थानमा खेल पूर्वाधार विकास गरिएको बताए। विकासका उपलब्धि संरक्षण गर्न नसकिए नयाँ निर्माणको अर्थ नरहने उनको आशय थियो।
ओलीले भाटभटेनी सुपरमार्केटका २१ वटा शाखामा भएको तोडफोड, लुटपाट र आगजनीको प्रसङ्गसमेत उठाए। यस्ता घटनाले निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै उनले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको आलोचना गरे।
सांस्कृतिक संरक्षणलाई चाडपर्व मनाउने औपचारिकतामा मात्र सीमित राख्न नहुने उनको धारणा थियो। मानिसको व्यवहारमा इमानदारी, सद्भाव, करुणा र सामाजिक उत्तरदायित्व कायम हुनुपर्नेमा उनले जोड दिए।
समाजमा बढ्दो घृणा, असत्य र विध्वंसको प्रवृत्ति रोक्न सकारात्मक सोच तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ओलीले निर्माण, संरक्षण र जिम्मेवारीबोधको संस्कारलाई सामाजिक तथा राजनीतिक जीवनको आधार बनाउनुपर्ने बताए।





