काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा साट्न ल्याएका झुत्रा, मैला र च्यातिएका विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ ।
२०८३ असार मसान्तमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तमा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । राष्ट्र बैंकका अनुसार एक वर्षमा चलनचल्तीमा रहेका नोटको कुल मूल्य ६.०८ प्रतिशत बढेको हो ।
नयाँ नोटको मौज्दात ८८ अर्ब ९४ करोड नाघ्यो
२०८३ असार मसान्तमा राष्ट्र बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात थिए । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।
गत आर्थिक वर्षमा करारअनुसार पाँच रुपैयाँ दरका ३५ करोड थान नोट आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन् । १० रुपैयाँ दरका ३४ करोड थान नोट आपूर्ति गर्ने करारअन्तर्गत पहिलो र दोस्रो खेपमा २३ करोड थान प्राप्त भएका छन् ।
त्यस्तै, १०० रुपैयाँ दरका ३० करोड थानमध्ये पहिलो दुई खेपमा २१ करोड थान र ५०० रुपैयाँ दरका २३ करोड थानमध्ये पहिलो खेपमा १२ करोड थान नोट प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । सोही वर्ष ५० रुपैयाँ दरका ४२ करोड थान र एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार भएको छ ।
राष्ट्र बैंकले नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि छवटा अन्तर्राष्ट्रिय सुरक्षा मुद्रक कम्पनीलाई पूर्वयोग्यता सूचीमा राखेको छ । नोटको सुरक्षा र गुणस्तर बढाउन सुरक्षण विशेषता तथा प्राविधिक मापदण्ड अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्दै लगिएको केन्द्रीय बैंकले जनाएको छ ।





